Wednesday 9 May 2018

कमेडी हावी हुँदा फरक धारका फिल्मको व्यापार कमजोर





गत बर्ष ‘छक्का पन्जा २ र सत्रु गते’ जस्ता हाँस्यरस बोकेका चलचित्रले सर्वाधिक धेरै कमाई गर्दा समिक्षकले राम्रो भनेका, फरक कथा बोकेका चलचित्र व्यवसायिकरुपमा असफल भएका थिए । कतिपय चलचित्र आएको र गएको समेत पत्तो भएन ।
अघिल्लो वर्ष प्रदर्शित करिब ८० चलचित्रमध्ये केही चलचित्रले मौलिक विषय बोकेका थिए । तर, तिनीहरुले दर्शकलाई हलसम्म तान्न सकेनन् । राम्रो समिक्षामै चित्त बुझाउनुपर्‍यो । यसबाट फरक धारमा चलचित्र बनाउन खोज्ने चलचित्रकर्मीहरु हतोत्साहित हुने स्थिति आएको छ ।
दृष्टिविहिन युवती सृष्टी केसीको जीवनमा आधारित बायोपिक ‘ब्लाइन्ड रक्स’, पञ्चायति व्यवस्थाको कथा बोकेको ‘पञ्चायत’, र माओवादी जनयुद्धमा आधारित ‘तान्द्रो’, गाँजाको कथा बोकेको चलचित्र ‘गाँजाबाजा’ जस्ता चलचित्रमा दर्शकको मन बसेन ।
यो बर्षको पहिलो महिनाको व्यापार परिणाम हेर्ने हो भने पनि यस्तै देखिएको छ । वैशाख २१ गतेबाट रिलिज भएका दुई चलचित्र ‘डमरुको डन्डिबियो र भोर’ को बक्स अफिस निकै कमजोर भयो ।
दुवै चलचित्रले मौलिक विषयवस्तु बोकेका थिए । शुक्रबार र शनिबार खासै नचले पनि ‘पशुपति प्रसाद’ जस्तै आइतबारबाट वर्ड अफ माउथले हलमा दर्शक आउँछन् भन्ने ‘डमरुको डन्डिबियो’का निर्माताको आशा निराशामा बदलियो । यो चलचित्रले लोपोन्मुख डन्डिबियो खेलप्रति आकर्षण जगाउने अपेक्षा थियो । तर, दर्शकलाई यो चलचित्र भन्दा बरु विदेशी चलचित्रबाट प्रभावित कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा बढी मन बस्यो ।
चलचित्र ‘भोर’ले मधेसमा हुने गरेको दाइजो प्रथाको कथालाई उठान गरेको थियो । तर, यो चलचित्र हेर्न पनि दर्शक आएनन् । निर्देशक यादव भट्टराई आफैंले चलचित्र रिलिज भएको २ दिनमै फ्लप भएको घोषणा गरे ।
फरक बिषयलाई उठाइएका चलचित्रले दर्शक खासै बटुल्न सकेका छैनन् । फरक विषयका साथमा दर्शकले कथावस्तुमा मनोरञ्जन पनि खोजेका छन् । त्यसैले आगामी दिनमा निर्माता-निर्देशकले मौलिकतासँगै मनोरञ्जनलाई पनि सन्तुलनमा राख्नुपर्ने देखिन्छ ।
अनलाइनखबर २०७५ वैशाख २६ गते १३:१२ मा प्रकाशित

No comments:

Post a Comment