Monday 28 January 2019

खेलकुद वन डे सिरिजमा नेपालको ऐतिहासिक जित


– संयुक्त अरब इमिरेट्स युएईविरुद्धको ३ म्याचको वन डे सिरिज नेपालले २–१ ले जितेको छ । तेस्रो तथा निर्णायक म्याचमा आज ४ विकेटको जित हात पार्दै नेपालले ऐतिहासिक सिरिज जितेको हो । 

नेपालले खेलेको यो दोस्रो वन डे सिरिज हो । यसअघि नेदरल्याण्ड्विरुद्धको सिरिजमा नेपालले १–१ को बराबरी खेलेको थियो । नेपाली टोलीका कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेको खेलमा युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउन सहज भएको थियो । खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन् । सोमपाल कामी र आरिफ शेखले सातौं विकेटका लागि ४० रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । 

नेपालले ४४ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । सोमपालले ४५ औं ओभरको चौथो बलमा शानदार छक्का प्रहार गरेसँगै नेपालको जित सम्भव भएको थियो । उनी २६ रनमा अविजित रहँदा आरिफ शेखले २१ रनमा साथ दिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । वन डे टीममा डेब्यु गरेका सन्दिप जोराले १९ र रोहित कुमार पौडेलले १६ रन जोडे ।  यसअघि टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले शुरुआत राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन सकेको थिएन । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले नेपालका लागि शुरुआती सफलता दिलाए पनि युएईका मध्य क्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका लिए । निर्धारित ओभरमा ६ विकेट गुमाएर युएईले २ सय ५४ रन जोड्यो ।  शाइमान अनवरले ८७ तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको हो । बुटा ५९ रनमा अविजित रहे ।  यूएईलाई विशाल योगफलतर्फ डोर्‍याउन अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । युएईको शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोद भण्डारीबाट क्याच गराउँदै तोडेका थिए ।  नेपालका लागि करण केसी र पारस खड्काले २–२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १–१ विकेट रहयो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा १ सय ४५ रनले विजयी भएको थियो । 

No comments:

Post a Comment