Thursday 14 February 2019

प्रणय दिवस दिवसको शुभकामना


पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टाैं घोरीएर शब्द रोजी रोजी पठाएका SMSहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू... मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महशुस हुने काउकुती अनि अनेक भावनाको रमणिय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाईन डे ।

पश्चिमी सभ्यताका आयातित 'डे' का रुपमा आजको भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई दिन विशेषसँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ, कि कसो ?

आज लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरु सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान भने कति त्यस्ता प्रेमकथाहरुमा ब्रेक पनि लाग्लान तर यसको अर्थ संसार सक्किएको होइन, तपार्इलार्इ माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपार्इलार्इ धेरै माया अर्कै पात्र अन्त कतै छ.. कुरी बसेको छ ।

एउटा अचम्मको तथ्य के छ भने, 'संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन् ।' अर्थात माया सहज छैन, उदाहरणकालागि भगवान श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना-मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन तर यि प्रेमी जोडिलाई आजपनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण...

मनै त हो, स्वीकारिए पनि या अस्विकार भएपनि आत्तिने अनि मात्तिने नगरौं । अाफूले एकोहोरो चाँहदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने जरूरी छैन, मूल कुरो हो एकअर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरीका कुराहरू अधूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो ।

इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ । करोडौंको संख्यामा भ्यालेन्टाइन डे कार्डहरु, चकलेटहरु, फूलहरु अनि विभिन्न उपहारहरुको अादान-प्रदान गरी यो मायालू दिनको उत्सव मनाईदैछ ।

सम्राट क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दि बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसंग इनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाकालागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनि आफूलाई प्रेषककारुपमा गरिएको एउटा संबोधन.... त्यहि संबोधन आजसम्म पनि मानव समूदाय अनि प्रेमीहरुले हृदयनिकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाईनकारुपमा सम्झिने गर्दछन् ।

मायाका नाममा कुनै र्दुब्यबहार नगरौं, मायाको सम्मान गरौ अनि मायाको पहिचान बनाऔं । बलजफ्ति प्राप्तिको लालसा माया कदापी हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो । मायालाई संकुचित र फगत सिमित अाकर्षणको घेराभन्दा पर पलभरमा संसारै फरक पार्नसक्ने अाँखाले हेर्न अावश्यक छ । अाकर्षण त फेरी सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जूगाैजूग अमर भर्इ बाँच्नेछ ।

प्रेमलार्इ केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र अाफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपार्इ कति माया गर्नुहुन्छ भनेर ? भेट्न संभव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।

No comments:

Post a Comment